राेल्पा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख २० हजार १२५ मत गणना सम्पन्न भएको छ । समानुपातिकतर्फ अब थोरै मत मात्रै गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
अघिल्लो चुनावको तुलनामा यसपटक मुख्य तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको समानुपातिकतर्फ मत घटेको छ । समानुपातिकतर्फ एमालेले २७ लाख ८८ हजार मत ल्याएको छ । पाँच वर्षअघि एमालेले ३४ लाख ३८ हजार मत ल्याएको थियो । यस्तै नेपाली कांग्रेसले पाँच वर्षअघि ३४ लाख १४ हजार मत ल्याएकोमा यसपालि २६ लाख ६० हजार मत ल्याएको छ ।
माओवादीले केन्द्रले यसपालि ११ लाख ६२ हजार मत ल्याएको छ । पाँच वर्षअघि माओवादीले समानुपातिकतर्फ १४ लाख २२ हजार मत ल्याएको थियो । ठुला पार्टीको मत घट्दा नयाँ पार्टीले उल्लेख्य मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख २४ हजार, राप्रपाको ५ लाख ८६ हजार, जसपाको ४ लाख २० हजार र जनमत पार्टीको ३ लाख ९४ हजार मत आएको छ ।
त्यस्तै, एकीकृत समाजवादीले २ लाख ९४ हजार र नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार मत ल्याएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार तथा अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् । अहिलेसम्मको मतपरिणामले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।
0 Comments