राेल्पा । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
शुक्रबार(आज) सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको भन्दै महाशाखाले दैनिक जीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
भोलि शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पुस १० गते आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । राति हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Social Plugin