कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्नका लागि प्रयास भइरहेको बताउनुभएकाे छ ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले आज बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले पोखरालाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्नका लागि विभिन्न देशहरूसँग कुरा भइरहेको बताउनुभयाे । उहाँले हवाई सम्बन्ध विस्तारका लागि कुटनीतिक पहल भइरहे पनि परिणाम आउन भने समय लाग्न सक्ने बताउनुभयाे ।
मन्त्री किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका पदाधिकारीलाई आफूले बिजनेस प्लान दिन निर्देशन दिइसकेको बताउनुभयाे । हवाई सेवामा सुरक्षाको ग्यारेन्टी हुने वातावरण निर्माणका लागि पनि निर्देशन दिइसकेको उहाँकाे भनाइ छ ।
पोखरा विमानस्थलमा झरेपछि यात्रुले चर्को ट्याक्सी भाडा तिर्नुपरेको गुनासो आएको भन्दै मन्त्री किरातीले त्यसका लागि विमानस्थलले व्यवस्था गर्ने बताउनुभयाे ।
गएकाे पुस १७ गतेदेखि देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा याे विमानस्थल सञ्चालनमा आएकाे थियाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच विमानस्थलकाे उद्घाटन गर्नुभएकाे थियाे । यहाँबाट अन्तर्राष्ट्रिय उडान भने अझै निश्चित भएको छैन ।
0 Comments