काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ।
तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो। चार दिने भ्रमणमा सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी हुने छन्। केही सदस्य थपघट हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणमा विद्युत्, व्यापार, भौतिक पूर्वाधार तथा पारवाहनलगायत विषयमा सम्झौता हुने परराष्ट्र मन्त्री एनपी साउदले बताउनुभयो। विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने र नेपालमा उत्पादित विद्युत्को बिक्रीको सुनिश्चितता गर्न पनि सरकारले भारत भ्रमणलाई महत्त्वका साथ लिएको उहाँको भनाइ छ। प्रसारणलाइन विस्तार र भारत हुँदै बंगलादेशसँग विद्युत् व्यापार गर्ने आधार बनाउने विषयमा पनि छलफल हुने उहाँको भनाइ छ ।
प्रधानमन्त्री आज दिउँसो १ बजे नेपाल वायुसेवा निगमको नियमित जहाजबाट नयाँदिल्ली जाने तय भएको छ । प्रचण्डको भ्रमण टोलीमा उहाँको निजी सचिवालयका साथै आधा दर्जन मन्त्री र डेढ दर्जन सचिव हुनेछन्। परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल कृषिमन्त्री वेदुराम भुसाल जाने छन्।
टोलीमा मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरे, गृह सचिव दिनेश भट्टराई, कानुन सचिव धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, कृषि सचिव गोविन्दप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा र वन सचिव रेवतीरमण पौडेल छन्।
प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिवसमेत रहेकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल हुनेछन्। प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मा र चार सुरक्षा अधिकारी पनि हुनेछन्।
भ्रमण टोलीमा सहसचिव र उपसचिव तहका अधिकारीका पनि लामो सूची छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, परराष्ट्रका भारत हेर्ने सहसचिव रामप्रसाद सुवेदी, चिफ अफ प्रोटोकल सुधीर भट्टराई, प्रधानमन्त्री कार्यालयका सहसचिव नवराज ढुंगाना, ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाललाई सूचीमा समावेश छन्।
उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, लगानी बोर्डका सहसचिव अमृत लम्साल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, गेटा मेडिकल कलेजका निर्देशक प्रमोद जोशी, विद्युत् उत्पादन कम्पनी लिमिटेडका महाप्रबन्धक सूर्यप्रसाद रिजाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशसिंह प्रधान पनि टोलीमा हुनेछन्।
यस्तै, सञ्चारकर्मी ४ जना, सुरक्षाकर्मी ४ जना र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दिल्लीस्थित दूतावासका ५ अधिकारीको नाम समावेश छ।
सरकारले खर्च बेहोर्ने भ्रमण टोली सदस्यको संख्या ४७ छ। ५० जना व्यवसायी र १३ जना सञ्चारकर्मीहरु निजी खर्चमा जानेछन्। प्रधानमन्त्री प्रचण्डको टोली जेठ २० गते स्वदेश फर्किँनेछ।

0 Comments