नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छ : अर्थमन्त्री

 काठमाण्डाै । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूकाे जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले आलुमा देश आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनका लागि मूल्य अभिवृद्धि कर (भ्याट) को व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देश आलुमा आत्मनिर्भरतातर्फ अघि बढ्दै गएको छ । प्याजमा पनि आत्मनिर्भरतर्फ जानैपर्छ । त्यसो हुनाले हामीले मूल्य अभिवृद्धि कर अर्थात् भ्याटमार्फत आलु र प्याजलाई आत्मानिर्भरता लैजान खोजेको हो ।’


अर्थमन्त्री महतले कालिमाटी तरकारी बजारमा बिचौलियाका कारण देशभित्रको उत्पादनले प्रवेश नपाउने तर बाहिरबाट आएकाले सिधै प्रवेश पाउने अवस्था रहेको बताउनुभयो । उहाँले देशभित्रका साना–साना उत्पादन गर्नेहरूलाई भने यो भ्याट नलाग्ने बताउनुभयो । आलु र प्याजमा लगाएको भ्याटले नेपाली उत्पादकलाई हौसला दिने उहाँले दाबी गर्नुभयो । 

अर्थमन्त्रीले नेपालमा मूल्य अभिवृद्धि कर लागू भएसँगै राजस्वकाे दायरा बढेको बताउनुभयो । उहाँले सरकारले आर्थिक विधेयकमार्फत व्यवस्था गरेको करले देशको अर्थतन्त्र चलायमान हुने बताउनुभयो ।

Post a Comment

0 Comments