काठमाडौं । हेटौंडामा यात्रुवाहक बस दुर्घटना हुँदा ४९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो करिब २ बजे चितवनबाट जनकपुर जाँदै गरेको ना. ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा दुर्घटना भएको हो ।
दुर्घटनामा ४९ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्धार गरी हेटौंडा अस्पताल र चुरेहिल अस्पताल पठाइएको छ ।
घाइतेमध्ये २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
बस अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । उक्त स्थानमा सडक निर्माणको काम भइरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ भने बाँकीको सामान्य रहेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको र चालक सम्पर्कमा नरहेको उहाँले बताउनुभयो ।

0 Comments