विपद् सहयोगको नाममा उपस्थिति जनाउने होडबाजी नगर्न सरकारको आग्रह

 काठमाण्डाै । सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ । सरकारले विपद् प्रतिकार्यमा खटिने नाममा आसामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ ।

बिहीवारदेखि शुरु भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत बाँड्ने काममा खटिने नाममा पीडितसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका काम रोक्न जरुरी रहेको बताउनुभयो । उहाँले विपदमा उपस्थिति दर्ता गराउने होडबाजी बढेको भन्दै विपद्का बेलामा उपस्थिति दर्ता गराउनमात्रै विपद् स्थलमा नजान आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विपद् रोकथामकाे काममा सरकारमात्रैको संलग्नताले पुग्दैन । विपद्का बेलामा उद्धारका लागि जाने भनेर उपस्थिति दर्ता गराउने होडबाजी बढी देखिएको छ । यसलाई रोक्नुपर्छ ।’

गृह सचिव भट्टराईले विपद् रोकथामकाे काममा सरकार एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरूसँग समन्वय गरी उद्धार र राहत बाँड्ने काममा खटिन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले विपदबाट बच्न तीन चरणका तयारी गरेको पनि बताउनुभयो । विपद् व्यवस्थापनकाे कामका लागि सरकारका तर्फबाट थप अनुसन्धान गरी रोकथाममा लाग्नुपर्ने उहाँकाे भनाइ छ ।

Post a Comment

0 Comments