माधव नेपालको गुनासो-ओलीले सर्वदलीय बैठकमा पनि हामीलाई निषेध गरे

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको गुनासो गर्नुभएको छ ।

 
संसद्‍को अवरोध खुलाउनुअघि सहमतिका लागि राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूको बैठकलाई लक्षित गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

शनिबार(आज) काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा उहाँले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गर्नुभयो । संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो ।
 
अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव पनि नगरेको बताउनुभयो । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको उल्लेख गर्दै उहाँले त्यसबेला पार्टीलाई बिजोग बनाएर आफू राष्ट्रपति बन्न नचाहेको समेत बताउनुभयो । यसबाहेक उहाँले नेकपा ब्युँताउन भनेर आफूले पठाएको प्रस्तावलाई ओलीले लत्त्याएको पनि दोहोर्‍याउनुभएको थियो ।
 
‘ओलीले यो पार्टीको मतलब नै नराख्ने । हुँदाहुँदै हिजोअस्ति त संसद्मा अरू सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन् । र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरू सबै बसे ६ वटा पार्टी । राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् । अब हामी पनि सोचिरहेका छौं कि हामीले पनि केही गर्नुपर्छ । धेरै भलाद्मी पाराले हुँदैन । त्यसोहुनाले यो घिउ निकाल्नका लागि औंलो अलि बाङ्गै गर्नुपर्दो रहेछ । त्यो बाङ्गो नगरेर हुँदो रहेनछ । संसार नै त्यस्तै छ । यो सबै अवस्था हामीले देखिरहेका छौं,’ अध्यक्ष नेपालले भन्नुभयो ।
 
अध्यक्ष नेपालले ओलीको तानाशाही प्रवृत्तिकै कारण विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको पनि दोहोर्‍याउनुभयो।

Post a Comment

0 Comments