काठमाण्डाै। ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङ कक्षा शुरु भएको छ । काठमाण्डौ महानगरपालिकाले गएको वैशाख १२ गतेदेखि शुरु गरेको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो ।
महानगरको सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाका अनुसार कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ सिकाइएको छ । त्यस्तै, कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ सिकाइएको छ ।
विद्यार्थीको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनोट गरिएको हो । कार्यक्रमबाट सामुदायिक विद्यालयमा प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्ने विश्वास छ । विद्यालयमा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् ।
महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ क्लब गठन भइसकेका छन् । उनीहरूका काम विश्वका एक सय ६० भन्दा धेरै देशमा क्लब सञ्जालमा जोडिन्छ । रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङ कक्षाले विद्यार्थीमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीमा तार्किक क्षमता बढ्नेछ ।
चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुने विद्यालयका प्रधानाध्यापक सारदा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षाका लागि बितेका हप्तामा अभिमुखीकरण गराइएको थियो । यी कक्षामा विद्यार्थीको रुची बढेको छ ।
काठमाण्डौ महानगरले विद्यार्थीलाई जीवनउपयोगी शिक्षा दिने उद्देश्यकासाथ गएको वैशाखदेखि ८९ वटै विद्यालयमा हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।

0 Comments