सङ्खुवासभामा कैदी मृत्यु प्रकरण : ६ दिनपछि आफन्तले शव बुझे

 सङ्खुवासभा । जिल्ला कारागार सङ्खुवासभामा ज्यान गुमाएका दुई जना कैदीका आफन्तले छ दिनपछि आज साेमवार शव बुझेका छन् ।

कारागारका सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई पक्राउ र कारागार प्रमुख राजेन्द्र घिमिरेमाथि पक्राउ पुर्जी जारी भएपछि आफन्तले शव बुझेका हुन् । मृतकहरूकाे आजै अन्त्येष्टि गरिएकाे छ । सङ्खुवासभाका विनाेद ताेलाङ्गीकाे नगरपालिकाको राममन्दिर नजिकैको खोलामा र नुवाकोटका आकाश बलामीकाे खाँदबारी नगरपालिका–९ काे मनकामनामा अन्त्येष्टि गरिएको छ ।


प्रहरी सहायक निरीक्षक चौधरीलाई जिल्ला अदालतबाट आइतवार पाँच दिनको म्याद थप भएर हिरासतमा राखिएको र कारागार प्रमुख घिमिरेमाथि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो ।

गएको २४ गते बुधवार जिल्ला कारागार सङ्खुवासभामा कैद सजाय भुक्तान गरिरहेका मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको कुटपिटबाट ज्यान गएकाे थियो ।

Previous Post Next Post