काठमाण्डाै । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राखेपले गण्डकीमा गएको वर्ष भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको खर्च हिजो सार्वजनिक गरेको हो ।
राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले प्रतियोगितामा ५३ करोड ७९ लाख रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । सरकारबाट ६० करोड १० लाख रुपैयाँ प्राप्त भएको र आन्तरिक रुपमा ५१ लाख ५२ हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो । राखेपले २१ वटा शीर्षकमा खर्च विवरण उल्लेख गरेको छ ।
प्रतिनिधि, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको खाना तथा बसोबासमा मात्र १३ करोड १७ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, खेल सामग्रीमा २ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ । किट्स ब्याग, निर्णायक जर्सी र खेल पोसाकका लागि १५ करोड ३९ लाख रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
गण्डकीको कास्कीलगायत ८ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदको असोज २८ मा उद्घाटन र कात्तिक ३ गते समापन भएको थियो ।

0 Comments