उत्तरी गोरखाको झोङगाउँका १० घर पहिराेकाे जोखिममा

गोरखा । केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण माथिबाट झरेको पहिराेले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा रहेकाे झोङगाउँका १० घर जोखिममा परेका छन् ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिनुभयो । पहिराेसँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उहाँको भनाइ छ  ।

त्यस्तै, पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको उहाँको भनाइ छ । 'पहिराेले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको छ', अध्यक्ष लामाले भन्नुभयो, 'घर तथा खेतबालीमा समेत क्षति पुर्याएकाले पीडित समस्यामा परेका छन् ।'


पहिराे रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ। थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउनका लागि ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताउनुभयो।

प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको उहाँको भनाइ छ ।

Post a Comment

0 Comments