काठमाडौं । कैलालीको धनगढी बजारमा गए राति आगलागी भएको छ ।
राति एक बजेतिर धनगढी उपमहानगरपालिका–१ को सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । आगलागीले अस्पतालसहित केही घरहरू जलेका प्रहरीले जनाएको छ ।
स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पल गोदाममा विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो । आगोले सो स्टोरसँगै जोडिएका अन्य पसल र अस्पतालमा समेत क्षति पुगेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रण गर्न धनगढी उपमहानगरपालिकाका दुई वटा, गोदावरी नगरपालिका, पुनर्वास नगरपालिकाका एक/एकवटा गरी चारवटा दमकल प्रयोग गरिएको थियो ।
आगलागीबाट कुनै मानवीय क्षति भने हुन पाएन । धनमाल क्षतिको विवरण प्रहरीले संकलन गर्दै छ ।

0 Comments