काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुग्नुभएको छ ।
पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न जानुभएको हो ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।
नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरू सक्रिय भएको बेला देउवाले नेपाललाई भेट्नुभएको हो । कांग्रेसले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासमा रहेको बुझिएको छ ।
केन्द्रको नयाँ सत्ता समीकरण अनुसार प्रदेश सरकारमा पनि सरकार परिवर्तनको प्रयास भइरहे पनि कतिपय प्रदेशमा एकीकृत समाजवादी निर्णायक देखिएको छ । त्यसैले देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।
यसअघि मंगलबार बेलुका नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली पुगेर नेपाललाई सत्ता गठबन्धन र सरकारमा सहभागी हुन भन्नुभएको थियो। त्यस लगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रवि लामिछाने पनि पुगेको स्रोतले दाबी गरेको छ ।
नेकपा एकीकृत समाजवादीले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
0 Comments