काठमाण्डाै । आउँदो आर्थिक वर्षको बजेटले कर्णाली प्रदेशको विकास निर्माणलाई बेवास्ता गरेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् । उनीहरूले सरकारले बजेट परिमार्जन गरेर अघि नबढाएमा संसद् भवन नै घेराउ गर्ने चेतावनी दिएका हुन् ।
बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने चेतावनी दिनुभयो । सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडक स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले कर्णाली प्रदेशका राजमार्ग ‘मृत्यु राजमार्ग’ बनेका बताउनुभयो । सांसद थानीले सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरूले संसद् भवन घेराउ गर्ने चेतावनी दिनुभयो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिनुभयो । उहाँले सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दा कम बजेट गएको भन्दै ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीरम महासेठ नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो’ भनेर प्रश्न गर्नुभयो । शाहीले कर्णाली प्रदेशलाई अपमान गर्ने भए कर्णाली प्रदेशको सिंजाबाट आएको नेपाली भाषा नबोली आफ्नै भाषा निर्माण गर्न पनि चेतावनी दिनुभयो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको रोस्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यात्नुभएको छ । उहाँले ठूला नेताका चार वटा निर्वाचन क्षेत्रबाहेकका प्रतिनिधि सभा सदस्यहरू बजेटप्रति असन्तुष्ट रहेको बताउनुभयो ।