टेकमन बिष्ट,आर.एन नेटवर्क, माघ १६ रोल्पा ।“स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन र संस्कृतिको संरक्षण” भन्ने नारासँग छैठौं चतुर्भुज माण्डवी कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८१ मंगलबार उद्घाटन भएको छ। महोत्सव चतुर्भुज युवा क्लबको आयोजनामा संचालन भएको हो। उद्घाटन समारोह क्लबका अध्यक्ष कमल विक्रम शाहको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि, सुनीलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको छ । विशिष्ट अतिथिहरूमा उपाध्यक्ष मिना थापा, वडा नं. १ का अध्यक्ष पवन कुमार कवर, वडा नं. २ का अध्यक्ष नेत्र बहादुर गिरी, र वडा नं. ३ का अध्यक्ष दुर्गा बहादुर विष्टको उपस्थिती रहेको थियो। यस महोत्सवमा छिमेकी जिल्ला प्युठानबाट पनि सहभागिता भएको थियो।
यस महोत्सवको प्रमुख उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, सांस्कृतिक विविधताको प्रदर्शन र व्यापारिक गतिविधिहरूको प्रवाह गर्नु हो। यस अवसरमा कृषि उत्पादन प्रदर्शनी, स्थानीय हस्तकला प्रदर्शन, सांस्कृतिक प्रस्तुति, पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमहरूको आयोजना गरिएको बताइएको छ।
महोत्सव यही २७ गतेसम्म सञ्चालन हुने आयोजकहरूले बताएको छ । यस कार्यक्रमले सुनीलस्मृति गाउँपालिकाको पर्यटन, व्यापार र आर्थिक गतिविधिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा लिएको छ । आयोजकहरूले विश्वास व्यक्त गरेका छन् कि यस प्रकारका कार्यक्रमहरूले स्थानीय अर्थतन्त्रलाई सबल बनाउन मद्दत गर्ने र कृषि, व्यापार तथा सांस्कृतिक गतिविधिहरूको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएको छ ।
कार्यक्रममा विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारहरूको सहभागिता रहने आयोजकले बताइएको छ । महोत्सवले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा स्थानीय सांस्कृतिक र व्यापारिक गतिविधिहरूलाई चिनाउनेबताइएको छ । साथै महोत्सवमा यहीँ शुक्रबारदेखि लगातार निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन हुने बताइएको छ।
अध्यक्ष मणिराम बुढाथोकीले उद्घाटन समारोहमा समवेत राष्ट्र निर्माणका लागि महोत्सवले स्थानीय समुदायको एकता र समृद्धिमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। उहाले भन्नुभयो “यस महोत्सवले हाम्रो सांस्कृतिक सम्पत्ति र स्थानीय उत्पादनको महत्वलाई दर्शाउँछ र हामी सबैको कसमतमा सकारात्मक परिवर्तन ल्याउने बताउनु भएको थियो ।



0 Comments