गौरीशङ्कर माध्यमिक विद्यालयको नतिजा सार्वजनिक, दलित विद्यार्थीको उपस्थिति घट्दो

खुमबहादुर सुनार, आर.एन नेटवर्क, चैत १९ रोल्पा  ।  लुङग्री गाउँपालिका-४ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय, ठूलाेनम्जाले शैक्षिक सत्र २०८१ को आधारभूत तह कक्षा बालविकासदेखि ९ सम्मको नतिजा सार्वजनिक गरेको छ। विद्यालयको नतिजा अनुसार विभिन्न कक्षाहरूमा दलित विद्यार्थीहरूको उपस्थिति तथा उत्तीर्ण दरमा कमी आएको देखिएको छ।


बालविकास कक्षामा १४ जना विद्यार्थी अध्ययनरत रहेकोमा ५ जना दलित समुदायका छन्। कक्षा १ मा २६ विद्यार्थीमध्ये १८ जना, कक्षा २ मा २७ मध्ये १५ जना, कक्षा ३ मा २५ मध्ये ११ जना, कक्षा ४ मा ५१ मध्ये २३ जना, कक्षा ६ मा ७५ मध्ये २३ जना, कक्षा ७ मा ५४ मध्ये १४ जना, र कक्षा ९ मा ४३ मध्ये १२ जना मात्र उत्तीर्ण भएका छन्। यी तथ्यांकहरू अनुसार साना कक्षामा दलित विद्यार्थीहरूको सहभागिता उच्च देखिए पनि माथिल्लो कक्षामा पुग्दा यो संख्या घट्ने प्रवृत्ति देखिएको छ।

विद्यालय स्रोतका अनुसार दलित विद्यार्थीहरूको संख्या प्रारम्भिक तहमा उल्लेखनीय भए पनि उनीहरूको निरन्तरता कमजोर देखिएको छ। यस विषयमा अभिभावकहरूको चासो न्यून रहनु, आर्थिक अभाव, र सामाजिक कारणहरूले असर पारेको बताइएको छ। विद्यालय व्यवस्थापन समितिका अनुसार दलित विद्यार्थीको शिक्षामा अभिभावकहरूको रुचि बढाउने तथा निरन्तरता सुनिश्चित गर्ने विषयमा कुनै ठोस कार्यक्रम अघि नबढाइएको गुनासो गरिएको छ।

यसै क्रममा पूर्व कार्यपालिकाका सदस्य तथा शिक्षा समितिका सदस्य टेकबहादुर सुनारले दलित विद्यार्थीहरूको आर्थिक अवस्था तथा अन्य समस्याहरू सम्बोधन गर्न स्थानीय सरकारसँग पहल आवश्यक रहेको बताए। विद्यालय स्रोतका अनुसार लोकेन्द्र बिक, कविता सुनार, दिपेश बिकजस्ता विद्यार्थीहरू अब्बल रहेको पाइए पनि उनीहरूलाई थप प्रेरणा र आर्थिक सहयोगको आवश्यकता रहेको देखिन्छ।


विद्यालयका अनुसार दलित विद्यार्थी र अन्य विद्यार्थीहरूको शिक्षामा देखिएको अन्तरलाई न्यून गर्न विशेष पहल आवश्यक छ। स्थानीय सरकार, संघसंस्था तथा अभिभावकहरूबीच नियमित अन्तरक्रिया गरी शिक्षा प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग गरिएको छ।

Post a Comment

0 Comments