राजेश नेपाली नेटवर्क, २५ पौष । नेपालमा कारोना संक्रमण फेरि बढ्न थालेपछि नियन्त्रणका लागि सरकारले विद्यालय बन्द गर्नेदेखि लिएर सार्वजनिक स्थलमा २५ जना भन्दा धेरै भेला हुन रोक लगाउने निर्णय गरेको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो । सीसीएमसी प्रवक्ता सुनिता नेपालले खोप नलगाएका बालबालिकाहरु जोखिममा रहेकोले विद्यालय बन्द गर्न सिफारिस गरिएको जानकारी दिनुभयोे ।
अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमा नाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले आन्तरिक उडानमा पनि खोप कार्ड अनिवार्य हुनुपर्ने व्यवस्था मिलाउन पनि सिफारिस गरेको प्रवक्ता नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय भएको हो ।
यस्तै २०७८ सालमा आएको स्मार्ट लकडाउन कार्यविधिलाई कार्यान्वयनमा लैजान डीसीसीएमसीलाई आग्रह गर्ने निर्णय पनि भएको छ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा आज सीसीएमसी बैठक बसेको थियो ।
जोखिमयुक्त जिल्लामा डीसीसीएमसीले लकडाउनबारे निर्णय लिनसक्ने गरी व्यवस्थापन मिलाउन सिफारिस गरिएको प्रवक्ता नेपालले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको बढ्दो जोखिमका बीच फेरि लकडाउन हुन्छ कि हुँदैन भन्नेमा आम चासो छ । सरकारले भने जोखिमयुक्त क्षेत्रमा स्मार्ट लकडाउनको अवधारणमा जान तयारी गरिरहेको छ । तर विशेषज्ञहरुले तत्कालै लकडाउनमा जानुपर्ने अवस्था देखेका छैनन् ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले विश्वका अरु मुलुकको अवस्था हेर्दा नेपालमा पनि तत्कालै लकडाउन गरिहाल्नुपर्नेे अवस्था नरहेको यद्यपि उच्च सावधानी भने आवश्यक रहेको बताउनुभयो ।
कोरोनाको ओमिक्रोन भेरियन्ट भित्रिएपछि छिमेकी राष्ट्र भारतमा बिजुली गतिमा संक्रमण फैलिएको छ । पछिल्लो एक साताको तथ्याङ्क केलाउँदा नेपालमा पनि खतराको घण्टी बजिसकेको विज्ञहरु बताइरहेका छन् ।
आज मात्रै नेपालमा झण्डै १२ सय जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये आधाभन्दा धेरै काठमाडौँ उपत्यकाका छन् ।
0 Comments