राजेश नेपाली नेटवर्क, २७ बैशाख । रोल्पाको गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । गएराति भएको झडपमा कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन् ।
गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका कांग्रेसले दाबी गरेको छ ।
कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । गएको हप्ता पनि वाईसीएलको आक्रमणबाट रोल्पाको माडी गाउँपालिका–४ का कांग्रेसका वडाध्यक्ष उम्मेदवार निमबहादुर डाँगी घाइते हुनुभएको थियो ।