कानुनमन्त्री अनुपस्थित भएपछि न्यायपरिषद् बैठक स्थगित

काठमाडौं । कानुनमन्त्री अनुपस्थित भएपछि न्यायपरिषद्को बैठक स्थगित भएको छ । बजेट पारित गर्न पार्टीले ह्विप जारी गरेपछि कानुनमन्त्री धनराज गुरुङ बैठकमा उपस्थित हुनुभएन । 

 
उच्च अदालतका न्यायाधीशहरूको नियुक्तिका सम्बन्धमा छलफल गर्ने एजेण्डासहित बैठक डाकिएको थियो । गत सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सोही बैठकको निरन्तरतास्वरूप बुधबार(आज)का लागि बैठक डाकिएको थियो । 

तर आजको बैठकमा कानुनमन्त्री धनराज गुरुङ उपस्थित हुन नसक्ने भएपछि प्रधानन्यायाधीश हरिकृष्ण कार्की र वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि बैठकमा उपस्थित हुनुभएन । न्यायपरिषद्का दुईजना सदस्यहरू मात्रै परिषद्को सचिवालयमा उपस्थित भएका थिए । 
 
उच्च अदालतमा हाल ४७ न्यायाधीशको पद रिक्त छ । ४७ न्यायाधीशको पद रिक्त भएपनि यसअघि २७ न्यायाधीश पदमा नियुक्तिका लागि ८१ जनाको सर्ट लिष्ट तयार पारिएको थियो । सोही सर्ट लिष्टका आधारमा २७ जना न्यायाधीशको नियुक्ति गर्ने तयारी थियो ।

Post a Comment

0 Comments