काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रणको प्रयत्न नगरेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताउनुभएको हो । मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उहाँले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसद् चल्दा संसद्मा आवाज उठाइरहेको र संसद् नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको उल्लेख गर्नुभयो।अध्यक्ष नेपालले माइतीघर मण्डलामा आन्दोलनरत शिक्षकहरुको न्यायोचित र जायज मागहरु पूरा गर्नुपर्ने बताउनुभयो । आवश्यक कुराहरु विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष नेपालले पार्टीको समाजवादी जागरण अभियानअन्तर्गत पार्टी संगठनलाई परिचालित र संगठित गर्दै जनताको कुरा सुन्ने बताउनुभयो ।
0 Comments