कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा राजीनामाको घोषणा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो । 

 
त्यस क्रममा उहाँले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउँदै उहाँले आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न तयार रहेको पनि जिकिर गर्नुभयो । उहाँले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलीजुली बनाउनु नै अन्तिम विकल्प भएको दाबी गर्नुभयो ।
प्रदेशसभाको दोस्रो कार्यकालमा दुई पटक मुख्यमन्त्री हुने अवसर पाएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । यद्यपि प्रदेशमा सरकार गठनका क्रममा संविधान मिचिँदा सर्वोच्च गएर व्याख्या गर्नुपरेको स्पष्ट पार्नुभयो । आफू प्रदेशको सर्वोच्च कार्यकारी प्रमुखको भूमिकामा रहँदा प्रदेशको आर्थिक समृद्धिमा लागि परेको बताउनुभयो । 
 
आज कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताउँदै दलहरूले चालेको कदम ठिक भएको वा बेठिक भएको विषयमा सोच्नु पर्नेमा उहाँले जोड दिनुभयो । दलहरूबिचको सहमतिबाट मात्रै प्रदेशको समस्या समाधान गर्न सकिने बताउँदै उहाँले आफ्नो कुरालाई मात्रै जोड दिने हो भने मध्यावधि कसैले टार्न नसक्ने बताउनुभयो । प्रदेश संरचना खारेजको माग भइरहेको विषयलाई मध्यनजर गर्दै आगामी कदम चाल्नुपर्ने उहाँको जोड थियो । मध्यावधि निर्वाचनको पक्षमा कुनै पनि माहौल नभएको भन्दै उहाँले मध्यावधि रोक्न आफूहरू सहयोग गर्न तयार भएको बताउनुभयो।

Post a Comment

0 Comments