काठमाडौं । शिक्षामन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा आएका उपयुक्त सुझावलाई संशोधनमार्फत र केही विषयलाई नियमावलीमार्फत संशोधन गरिने बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले शिक्षकहरुसंग भएको सहमति र सरोकारवालाहरुको उपयुक्त सुझावलाई समावेश गरेर विधेयकलाई पूर्ण बनाइने बताउनुभएको हो ।
माध्यमिक तहको विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिँदा तीनै तहको अधिकारलाई पनि ध्यानमा राखिएको उहाँले बताउनुभयो । त्यस्तै, उहाँले नयाँ निजी विद्यालय खोल्दा गुठीमा जानुपर्ने र भएका विद्यालयहरुले चाहेमा मात्रै गुठीमा जान सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।मन्त्री राईले प्रदेशको मातहत रहने गरी जिल्लास्थित शिक्षा कार्यालय कायम गर्दा संविधानविपरीत नहुने दाबी गर्नुभयो। माध्यमिक शिक्षा परीक्षा (एसईई)का बिषयमा उठेका बहसहरुमाथि पनि थप छलफल गर्न मन्त्रालय तयार रहेको उहाँको भनाइ छ ।
मन्त्री राईले नेपाल शिक्षक महासङ्घ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमतिबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।
0 Comments