काठमाडौं। नेपालमा हाल मनसुनी प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार बिहान कोशी, मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा साथै गण्डकी र लुम्बिनी एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै विभागले साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ। त्यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ।