आर.एन नेटवर्क, माघ १७ रोल्पा । आज तामाङ समुदायले नयाँबर्षका रूपमा लिइने सोनाम ल्होसार पर्व मनाउँदैछन्।
तामाङ भाषामा ‘ल्हो’ अर्थात् वर्ष र ‘सार’ अर्थात् नयाँ । यसरी नयाँबर्ष भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने गर्छ।
आज तामाङ समुदायले विभिन्न किसिमका कार्यक्रम गरी हर्षोल्लासका साथ यो पर्व देशैभरि मनाउने गर्दछन्।
सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो। डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकार यो पर्वको विशेषता हुन्। यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्दै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गरेर मनाउँछन्।
मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन्।
यस पर्वको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।