खुमबहादुर सुनार, आर.एन नेटवर्क, चैत १५ रोल्पा । रोल्पा नगरपालिका वडा नं. २, रेउघामा जेष्ठ नागरिकको हक, हित तथा ज्ञान, सीप र अनुभव हस्तान्तरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। समाजमा जेष्ठ नागरिकहरूको भूमिका, उनीहरूको अधिकार तथा उनीहरूसँग रहेको ज्ञानलाई नयाँ पुस्तासँग जोड्ने उद्देश्यका साथ आयोजित सो कार्यक्रम स्थानीय समुदायका लागि प्रभावकारी सावित भएको छ। विभिन्न टोलहरूबाट जेष्ठ नागरिकहरू उत्साहपूर्वक सहभागी भएका यस कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता वडा नं. २ का अध्यक्ष प्रकाश डाँगीले गर्नुभएको थियो। उहाँले जेष्ठ नागरिकहरू समाजका मेरुदण्ड भएको बताउँदै उनीहरूको ज्ञान, सीप तथा अनुभवलाई उचितरूपमा उपयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँका अनुसार जेष्ठ नागरिकहरूलाई सम्मान गर्ने, उनीहरूको अनुभवलाई नयाँ पुस्तासम्म पुर्याउने र उनीहरूको अधिकार तथा सुरक्षाका लागि आवश्यक व्यवस्था गर्ने कार्यमा नगरपालिका प्रतिबद्ध रहेको छ।
नगरपालिका महिला तथा बालबालिका शाखाकी सहायक प्रमिला घर्तीले महिलाहरूको वृद्धावस्थामा आउने समस्याका बारेमा प्रकाश पार्दै जेष्ठ महिलाहरूलाई विशेष सुविधा तथा सुरक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले वृद्धावस्थामा महिलाहरूले भोग्ने शारीरिक, मानसिक तथा सामाजिक चुनौतीहरूको सामना गर्नका लागि परिवार तथा समुदायबाटै साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो।
कार्यक्रमको विशेष आकर्षण भनेको अति अशक्त, गरिब, दुखी तथा संरक्षकविहीन जेष्ठ नागरिकहरूको सम्मान थियो। यस क्रममा जेष्ठ नागरिक गोपाल सुनार र चिजा सुनारलाई सम्मानस्वरूप एक/एक थान फाइबर ब्लाङ्केट वितरण गरिएको थियो। यो सम्मानले जेष्ठ नागरिकहरूको हकहित र सुरक्षाको विषयलाई उजागर गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रम संयोजकहरूले समाजमा रहेका गरिब, अशक्त तथा एक्ला जेष्ठ नागरिकहरूको संरक्षणका लागि स्थानीय सरकार तथा समुदायले विशेष पहल गर्नुपर्ने बताए। जेष्ठ नागरिकहरूका लागि विभिन्न प्रकारका सहयोग कार्यक्रम सञ्चालन गरी उनीहरूलाई सुरक्षित वातावरणमा राख्ने योजनाका बारेमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा उपस्थित जेष्ठ नागरिक संयोजक भक्त राम पुनले जेष्ठ नागरिकहरूले आफ्नो जीवनको महत्वपूर्ण समय समाजलाई योगदान दिन खर्चेको उल्लेख गर्दै अब उनीहरूलाई समाजले संरक्षण गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले नगरपालिकाले जेष्ठ नागरिकहरूका लागि विशेष कार्यक्रम तथा नीति अवलम्बन गर्नुपर्नेमा पनि जोड दिनुभयो।
जेष्ठ नागरिकहरूको अनुभव, सीप तथा ज्ञानको उचित उपयोग नगर्ने हो भने समाजले ठूलो घाटा व्यहोर्नुपर्ने लिवाङ स्वास्थ्य चौकीका इन्चार्ज आचार्यले बताउनुभयो। उहाँले जेष्ठ नागरिकहरूले पुराना परम्परा, स्थानीय ज्ञान तथा संस्कृतिलाई पुस्तान्तरण गर्न सक्ने भएकाले उनीहरूको सम्मान तथा सुरक्षाको व्यवस्था हुनुपर्ने बताए।
सहभागीहरूले यस कार्यक्रमले जेष्ठ नागरिकहरूलाई आफ्नो अधिकार, सुरक्षाका उपायहरू तथा समाजमा उनीहरूको महत्वबारे जानकारी प्राप्त गर्न सहयोग पुगेको बताएका छन्। साथै, नयाँ पुस्ताले पनि जेष्ठ नागरिकहरूप्रति सम्मानजनक व्यवहार देखाउनुपर्ने सन्देश कार्यक्रममा दिइएको थियो।
नगरपालिकाले वृद्धवृद्धाहरूको हकहित संरक्षणका लागि आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। वडा अध्यक्ष प्रकाश डाँगीले जेष्ठ नागरिकहरूका लागि थप कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको जानकारी गराउँदै स्थानीय निकायहरूले यस्ता कार्यमा सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो।
कार्यक्रम सहायक प्रमिला घर्तीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमका सहभागीहरूले यस्ता कार्यक्रमहरू नगरपालिकाभरि सञ्चालन गर्नुपर्ने मागसमेत गरेका छन्। समाजमा जेष्ठ नागरिकहरूको सम्मान अभिवृद्धि गर्न तथा उनीहरूको अनुभवको कदर गर्न यस कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ।