आर.एन नेटवर्क, चैत २७ रोल्पा ।रोल्पाको लुङग्री गाउँपालिका २ सिर्पमा कक्षा ५ को वडास्तरीय परीक्षामा सहभागी भएका विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको छ। वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा परीक्षामा उच्च स्थान हासिल गर्ने चार जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

गोकुल माध्यमिक विद्यालयका विद्यार्थी योगेन्द्र घर्ती क्षेत्रीले प्रथम स्थान हासिल गर्न सफल भएका छन्। त्यस्तै सोही विद्यालयकी सस्कृति गिरिले द्वितीय स्थान प्राप्त गरिन् भने सुनिल विक तृतीय भएका छन्। यस्तै, शिवज्योती प्रा।वि।की लालुमाया पुन मगरले सान्त्वना स्थान प्राप्त गरेको बताइएको छ ।

कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरू सबैले सम्मानित विद्यार्थीहरूको सफलतामा खुसी व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएका थिए ।
वडा कार्यालयले प्रदान गरेका शैक्षिक सामग्रीहरूमा झोला, कापी, कलम, गणित सेट, किताब लगायतका आवश्यक सामाग्रीहरू समावेश गरिएको थियो। यो सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई पढाइमा अझ बढी मनोबल प्रदान गर्ने अपेक्षा लिइएको छ।विद्यालयका प्रधानाध्यापकहरूले पनि कार्यक्रममा मन्तव्य दिँदै यस्ता गतिविधिले विद्यार्थीहरूको शैक्षिक सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। गोकुल मा.वि.का प्रधानाध्यापकले भने, “हाम्रा विद्यार्थीहरूले निरन्तर मेहनत गरिरहेका छन्। यस्तो सम्मानले उनीहरूमा अझ बढी लगनशीलता विकास हुनेछ।”
शिवज्योती प्रा।वि।का शिक्षकहरूले पनि विद्यालयस्तरमै नियमित तयारी गराउँदै आएको बताउँदै सन्तोषजनक नतिजा आएको बताएका छन्। “हामी विद्यालयमा नियमित परिक्षा, अतिरिक्त कक्षा र अभ्यासद्वारा विद्यार्थीको क्षमता अभिवृद्धिमा लागिरहेका छौं,” उनीहरूले भने।
उक्त कार्यक्रमको समापन समारोहमा वडा सदस्य, शिक्षक अभिभावक संघका प्रतिनिधि तथा विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबैले वडा कार्यालयले गरेको यो पहलको प्रशंसा गरे।
वडा कार्यालयका अनुसार यस्ता कार्यक्रमहरू आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गर्दै लगिनेछ। शिक्षा क्षेत्रको समग्र विकासका लागि वडाले नीति तथा कार्यक्रमहरू निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमको समापनमा वडा कार्यालयले सबै सहभागी विद्यार्थीहरूलाई भविष्यमा अझ मेहेनत गरेर राष्ट्रको सेवा गर्न प्रेरणा लिने विश्वास व्यक्त गर्दै सफलताको अग्रिम शुभकामना दिएको थियो।