आर.एन नेपाली नेटवर्क १३ । काठमाण्डौको नागढुङ्गाबाट १२ किलो चाँदीसहित एक जना पक्राउ परेका छन् ।
चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकप्वाइन्टबाट १२ किलो १७६ ग्राम चाँदीसहित बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ घर भएका ३२ वर्षीय अनिशकुमार सिंह पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाण्डौको जनाएको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बा प्र ०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक रहेका सिंहलाई बिलबीजक नभएका चाँदीका सिक्री, चन्द्रमा, पाउजुलगायतका गरगहनासहित पक्राउ गरेको परिसरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले बताउनुभयो ।