आर.एन नेपाली नेटवर्क, ०५ असोज । मानव विकास सामुदायिक सेवा (एचडीसीएच) र भरोसा सामुदायिक सेवा दाङद्वारा सञ्चालित सामुदायिक रेडियो ‘भरोसा १०४.९ मेगाहर्ज’ले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई आवश्यक फर्निचर सामाग्री सहयोग गरेको छ।
मानव विकास तथा सामुदायिक सेवाका संयोजक विजय मानन्धरका अनुसार जेन–जी आन्दोलनका क्रममा भएको क्षतिपछि राहतस्वरूप ३ वटा दराज र एक दर्जन वटा कुर्सी, एक थान रेडियाे हस्तान्तरण गरिएको हो।
भदौ २४ गतेको जेन–जी आन्दोलनले विभिन्न निकायमा पुर्याएको क्षति प्रति दुःख व्यक्त गर्दै, हाल घोराहीमा सञ्चालनमा रहेको रेडियो भरोसा १०४.९ मेगाहर्जको टोलीले सहयोग हस्तान्तरण गरेको हो। उक्त टोलीमा मानव विकास तथा सामुदायिक सेवाका संयोजक विजय मानन्धर, भरोसा सामुदायिक सेवाका अध्यक्ष सन्त घर्ती, रेडियो भरोसाका स्टेशन म्यानेजर दीपक पुन, सदस्य समिति मिलन रोकायालगायत सहभागी रहनु भएकाे थियाे।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख उपेन्द्र बहादुर बमका अनुसार भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा भवन, यातायात साधनलगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो। भवनमा क्षति पुग्दा ट्राफिक प्रहरीलाई बस्ने र कार्यालय सञ्चालनमै समस्या भएको उहाँले बताउनु भयाे ।
उहाँका अनुसार हाल जिल्ला ट्राफिक कार्यालयमा विभिन्न संघ–संस्था र समितिहरूबाट रंग–रोगन, फर्निचरलगायतका सामग्री सहयोग भइरहेको छ भने केही कामहरू सरकारी स्रोतबाट सञ्चालन भइरहेका छन्।



0 Comments