प्युठानमा सिचाइ पोखरीमा डुबेर एक बालकको मृत्यु

आर.एन नेपाली नेटवर्क, ११ असोज । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भिङ्ग्री सातमोडेमा रहेको सातमोडे सिचाइ पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । 


भिङ्ग्री वरिपरि मजदुरी गरेर  जीविकोपार्जन गर्दै आएका दाङ  रामपुर घर भएका भिम बहादुर परियार र श्रीमती लक्ष्मी  परियारका ८ वर्षीय छोरा बिनोद परियारको पौडी खेल्न गएको बेला डुबेर मृत्यु भएको हो । 

बिनोद चन्द्रेश्वरी  प्राथमिक विद्यालय भिङ्ग्री ४ प्यूठानमा कक्षा २ मा अध्ययन गर्ने विद्यार्थी हुन । बिहानै दिदीसङ्ग नुहाइधुवाइ गर्नको लागि उक्त पोखरीमा गएका बिनोद दिदीसङ्ग ९ बजेतिर घर फर्किएर आएका थिए । त्यसपछि करिब बिहान १० बजेतिर फेरि एक्लै पोखरीमा नुहाउन गएका बिनोदलाई स्थानीय केटाकेटीले करिब बिहान ११:३० बजे पोखरीमा डुबेको अवस्थामा भेटाएर बाहिर निकालेको परिवारले बताएका छन । 


स्थानीय केटाकेटीले बाहिर निकालेर परिवारलाई खबर गरेका थिए । परिवारले खबर पाएपछि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा ल्याउदा बालकको मृत्यु भइसकेको प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । बालकको मृत्यु भएपछि अन्य आवश्यक प्रक्रिया पूरा गरेर शव परिवारकै जिम्मा लगाउने तयारी भएको  इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ ।

Post a Comment

0 Comments