९० वर्षकी पवित्रा आमाको एक्लोपनः “हामीजस्ता गरिबलाई कसले हेर्छ? भिडियोसहित

खुम बहादुर सुनार 

आर.एन नेपाली नेटवर्क, ११ असोज । रोल्पा जिल्ला लुङग्री गाउँपालिका वडा नम्बर ४ ठुलो नम्जाकी ९० वर्षीया पवित्रा कामीको जीवन आज पनि अत्यन्त कठिन र पीडाले भरिएको छ । चार छोरी र दुई छोरा भए पनि अहिले उहाँ विकट समयमा एक्लै जीवन बिताउँदै आउनुभएको छ। उमेरको भार, एक्लोपन र चिसोको कठ्याङ्ग्रिँदो हावासँग उहाँको दैनिक संघर्ष चलिरहेको छ।

हामी गाउँ घुम्दै थियौं। त्यो गाउँ रमाइलो र प्राकृतिक सुन्दरताले भरिएको थियो। डाँडा–काँडा पार गर्दै हिँड्दा स्थानीय जीवनका कथाहरूले मन छोइरहेका थिए। केही समयपछि हामी पवित्रा आमाको घरमा पुग्यौं। उहाँ त्यतिबेला आफ्नी देउरानीसँग कुरा गर्दै हुनुहुन्थ्यो। हामीले पनि उहाँसँग कुराकानी सुरु गर्यौं।

पहिलो प्रश्न सोध्यौं —

“हजुर, अहिले आँखा, कान र खुट्टा सबै ठिक छन् त?”

उहाँ हाँस्दै भन्नुभयो,

“हुँदैन भने पनि के गर्नु र हजुरबाबु, सकेसम्म हिँड्छु, गाउँ र पसलमा पुगेर आफैं खानेकुरा ल्याउँछु। मेरो शरीर चलेको छ, मन नचलेको हो।”

उहाँको त्यो हाँसोभित्र लुकेको पीडा र सहनशीलता दुवै देखिन्थ्यो।

हामीले फेरि सोध्यौं —

“तपाईंको खर्च कसरी चल्छ?”

उहाँले निस्कपटी उत्तर दिनुभयो,

“नेपाल सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले नै पेट पाल्छु। त्यही पैसाले नुन, तेल, अन्न किन्छु। त्यो नआउँदा त उपवासमै दिन बित्छ।”

उहाँसँग कुरा गर्दा हाम्रो मन पनि भावुक बन्यो। हामीले पुनः सोध्यौं —

“तपाईंका लागि कसैले खान पकाइदिन्छ? राति को सुत्ने साथी हुनुहुन्छ?”

उहाँको उत्तर थियो,

“कोही छैन। म एक्लै सुत्छु। मेरा श्रीमान् बित्नुभयो जब म ४० वर्षकी थिएँ। दुई छोरा थिए, एउटा बित्यो, अर्को भारतमा बस्छ। छोराछोरीहरू सबै आफ्नै परिवारमा छन्। कहिलेकाहीँ चाडपर्वमा आउँछन्, तर बस्ने ठाउँ नहुँदा उनीहरू पनि धेरै बेर बस्दैनन्।”

उहाँको सानो घर खरले छाएको छ। जाडोमा हावा र पानी चुहिन्छ। घरमा राम्रो ओछ्यान छैन, कमबल पनि पुरानो छ। उहाँ भन्नुहुन्छ,

“पानी प¥यो भने कहिले यता सर्छु, कहिले उता। कहिले भाँडाकुँडामा पानी जम्मा हुन्छ, कहिले चुहिएको छानो थुनिराख्छु। साँझ १०–११ बजे सुत्छु, बिहान ४ बजे उठ्छु। चिसोले काँपिन्छ।”

हामीले सोध्यौं —

“स्थानीय सरकार वा कुनै संघसंस्थाले केही सहयोग गरे?”

उहाँको उत्तर थियो,

“स्थानीय सरकारले जस्ता दिने कुरा त ग¥यो, तर सानो घर बनाउन धेरै खर्च लाग्ने भयो। मसँग पैसा छैन। अहिले सम्म कसैले सहयोग गरेन।”

उहाँको वाक्यसँगै आँखा रसाए। उहाँ भन्नुहुन्थ्यो —

“हामीजस्ता गरिबलाई कसले हेर्छ र? चुनाव आउँदा मात्रै नेता मान्छेहरू बुढा–अपाङ्गलाई सम्झिन्छन्। त्यसपछि फेरि सबै हराउँछन्।”

९० वर्ष पुग्दा पनि पवित्रा आमाको स्वास्थ्य भने आश्चर्यजनक रूपमा ठीक छ। कुनै गम्भीर रोगले छोएको छैन। तर, चिसो र अभावका कारण उहाँको मनमा निरन्तर डर र चिन्ता खेलिरहन्छ।

स्थानीय बासिन्दा बताउँछन् —

“पवित्रा आमा गाउँकै श्रमशील र धैर्यवान् महिला हुन्। कहिल्यै हार मान्दिनन्। बिहानै उठेर आफ्नो काम आफैं गर्छिन्। तर, उहाँको अवस्था अत्यन्त दयनीय छ।”

उहाँको घरभित्र कुनै आधुनिक सुविधा छैन। बिजुलीको बल्ब मन्द बत्तीझैं झिलिमिली गर्छ। भुइँमा पुरानो चटाइ छ, त्यसैमा बिछ्याएर सुत्नुपर्छ। चिसोमा कठ्याङ्ग्रिएर पनि उहाँलाई तातो कम्बल छैन।

“जाडो प¥यो भने शरीर दुख्छ,” उहाँ भन्छिन्, “कसैले आगो बालिदियो भने तातो हुन्छ, नत्र बिहानैसम्म काँपिरहन्छु।”

उहाँको कथाले गाउँको वास्तविकता पनि झल्काउँछ — युवाहरू सबै वैदेशिक रोजगारीमा गएका छन्। गाउँ सुनसान छ। बुढाबुढी मात्र बाँकी छन्। कोही सन्तान परदेश, कोही सहरमा। गाउँमा बुढाबुढीका आवाजहरू मात्रै सुनिन्छन्।

अन्जली सुनार बताउँछिन् —

“हाम्रो गाउँमा पवित्रा आमाजस्ता धेरै वृद्ध–वृद्धा छन्। उनीहरूलाई घर, सहारा र माया दिन सक्ने प्रणालीको आवश्यकता छ। स्थानीय सरकारले केवल भत्ता दिएर जिम्मेवारी पुरा भएको ठान्नु हुँदैन।”

पवित्रा आमाको कथा केवल एउटा वृद्ध महिलाको जीवनकथा होइन — यो हाम्रो समाजको दर्पण हो। जहाँ परिवार, सरकार र समाज सबैले आफ्नो जिम्मेवारी बिर्सेका छन्।

उहाँको आवाज अन्त्यमा अझै पनि कानमा गुन्जिन्छ 

“मलाई केही चाहिँदैन, बस् चिसोमा नकाँपिने ठाउँ भए हुन्थ्यो।”

त्यो वाक्य सुन्दा हाम्रा आँखा रसिए। हाम्रो नजर उहाँको सानो घरको छानोमा अडियो — जुन छानाबाट पानी चुहिरहेको थियो।

यो रिपोर्ट केवल समाचार होइन, यो आमा–बुबा, हजुरआमाहरूको पीडा सुन्ने आवाज हो।

स्थानीय र संघीय सरकार दुवैको दायित्व हो — यस्ता आमाहरूको जीवनमा उज्यालो ल्याउनु, सुरक्षित बसोबास दिनु र उनीहरूको बुढेसकाल सम्मानपूर्वक बिताउने वातावरण सिर्जना गर्नु ।

अन्जली सुनारको भनाइमा,

“हामी युवाहरूले पनि समाजप्रति उत्तरदायी बन्नुपर्छ। आज पवित्रा आमा एक्लै छन्, भोलि हाम्रो पालो पनि आउँछ। समाज तब सुन्दर हुन्छ जब वृद्ध–वृद्धा सुरक्षित र सन्तुष्ट हुन्छन्।”

रोल्पाका जस्तै नेपालका हरेक गाउँमा आज पनि यस्ता कैयौँ पवित्रा आमा छन् — जसले कहिल्यै हार मान्दैनन्, तर जसलाई कोही हेर्ने समय निकाल्दैन ।

यो रिपोर्ट वृद्धजनप्रतिको जिम्मेवारी, माया र सामाजिक उत्तरदायित्वबारे जनचेतना फैलाउने उद्देश्यले तयार गरिएको हो।




Post a Comment

0 Comments