वीरगञ्जमा २४ नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि

 राजेश नेपाली नेटवर्क, २३ पौष  । पछिल्लो २४ घण्टामा वीरगञ्जमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ वटा स्वाब नमुना परीक्षण गर्दा ७ वटा पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख शुक्ष्म जीव विज्ञ प्रभाकर पाण्डेले जानकारी दिए ।



‘संक्रमणको दर १२–१३ प्रतिशतबाट एकैपटक २९ प्रतिशत पुगेको छ’ उनले भने, ‘यो राम्रो संकेत होइन, सबै सतर्क भएर बस्नुपर्छ ।’

संक्रमित शून्य अवस्थामा पुगिसकेकोे वीरगञ्जमा क्रमशः संक्रमित देखिन थालेका छन् । पुस १६ गते २२ वटा स्वाब नमुना परीक्षण गर्दा ३ जना, १९ गते २४ वटामा ३, २१ ३३ वटामा ४ वटा पोजेटिभ देखिएको थियो ।कोरोनाको ग्राफ अझै बढ्न सक्ने अनुमान चिकित्सकहरुले गरेका छन् । नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले नयाँ वर्ष मनाउन वा अन्य कामको सिलसिलामा भारतका विभिन्न सहर पुगेर फर्केकाहरुमा कोरोना संक्रमण देखिएकोले संक्रमण अझै बढ्न सक्ने बताए । ‘भारतका विभिन्न राज्यमा ओमिक्रोन भेरियन्ट फैलिएको छ, त्यसैको असर नेपालमा देखिन थालेको छ’ उनले भने, ‘संक्रमणको ग्राफ अझै बढ्नसक्छ ।’कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकाहरुमा कडा संक्रमण नदेखिएको बताउँदै उनले स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अबलम्बनमा लापरबाही घातक हुनसक्ने बताए । उनले जोखिम क्षेत्रबाट फर्केकालाई होल्डिङ सेन्टरमा राख्नुपर्ने, जनशक्ति तथा अन्य आवश्यक स्वास्थ्य उपकरण र अक्सिजन तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ छ ।

जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पछिल्लो अवस्थाको बारेमा आइतबार सर्वदलीय बैठक राखेर छलफल गर्ने तयारी भइरहेको जानकारी दिए ।

Post a Comment

0 Comments