काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अधिकारीलाई विभिन्न आरोप लगाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका छन्।
महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरुरी वा गोप्य पत्र भनि लेखेर सोध्नु पर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने बताएका हुन्।
फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिन्नँ, स्पष्टीकरण सोध्ने पनि नियम, कानुन र तरिका होला नि ?’, उनले भने, ‘फेसबुकतिर सोधिएका स्पष्टीकरणको मैले कसरी जवाफ दिनु ।’
यसैगरी महानिर्देशक अधिकारीले निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेको बनेपा नगरपालिका–१४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिएका विषयमा बिमती राखेका कारण आफूलाई विनाकारण स्पष्टीकरण सोधिएको आरोप लगाए ।
हाल प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा रु १५ करोड खर्च गरेर २७ वटा हेलिकोप्टर उडान तथा अवतरण हुन सक्ने गरी हेलिपोर्ट बनाइरहेको र निर्माणाधीन उक्त हेलिपोर्ट यही असारबाट नै सञ्चालनमा ल्याउने तयारी हुदै गर्दा निजी क्षेत्रलाई हेलिपोर्ट दिन आवश्यक नरहेको भन्दै महानिर्देशक अधिकारी त्यसको विपक्षमा रहँदै आएका छन्।

0 Comments