नेपालगन्जमा कर्फ्युका कारण जमुनाहा नाकामा यात्रुहरू अलपत्र

काठमाडौं । नेपालगन्जमा मंगलबारदेखि लगाइएको  कर्फ्युका कारण जमुनाहा नाका भएर यात्रा गर्ने यात्रुहरू नाकामै अलपत्र परेका छन् ।

 
नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि लागेको कर्फ्युका कारण भारतको विभिन्न ठाउँबाट आएका करिब १५ सय नेपालीहरू जमुनाहा नाकामै रोकिएका हुन् ।
 
बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आएका उनीहरूलाई गाडी मगाएर पठाउने काम भइरहेको बताउनुभयो । 


प्रहरीले बसपार्कबाट पाँच वटा र आफ्नो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरूलाई राँझाचोकसम्म पुर्‍याइँदै छ । स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ।
 
नेपालगन्ज बुधबार(आज) बिहान अवस्था सामान्य देखिएको छ । सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अत्यावश्यक कामबाहेक सडकमा हिँड्न दिइएको छैन।
Previous Post Next Post