झिमरुक गाउँपालिका प्यूठानले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कुल ६३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १८ औँ अधिवेशनबाट गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बजेट प्रस्तुत गरे । विनियोजित बजेटमध्ये चालुतर्फ ४१ करोड ४७ लाख ७३ हजार र पूँजीगत तर्फ २१ करोड ५२ लाख २७ हजार रुपैयाँ विनियोजन भएको छ ।
बजेटले शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशिलता, पर्यटन, प्रविधीमैत्री सार्वजनिक प्रशासन र सुशासन लगायत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड १८ लाख, सशर्त अनुदान (चालुतर्फ) २४ करोड १६ लाख र पूँजीगत ८ करोड ८७ लाख प्राप्त हुनेछ । गाउँपालिकाले आगामी आर्थिक वर्षभरी कुल ९० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको उपाध्यक्ष पोख्रेलले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारबाट कुल २ करोड ९४ लाख ८ हजार रुपैयाँ अनुदान प्राप्त हुनेछ ।
गाउँपालिकाको वडा नम्वर २ कार्यालय भवन निर्माण गर्नका लागि ५५ लाख बजेट विनियोजन भएको छ । स्वास्थ्य स्वयमसेविकाहरुको प्रोत्साहन र क्षमता अभिवृद्धीका लागि ४३ लाख ६० हजार बजेट विनियोजन भएको छ । यो सँगै समग्र स्वास्थ्य तथा पोषणको क्षेत्रमा १३ करोड २० लाख रुपैयाँ बजेट छ ।
विभिन्न विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकाले आगामी आवका लागि १ करोड ५७ लाख बजेट विनियोजन गरेको छ । विनियोजन भएको बजेटलाई बढी भन्दा बढी लक्षित वर्गमा पु¥याएर लाभ लिने गरी कार्यान्वयनमा जोड दिइने उपाध्यक्ष पोखे्रेलले सुनाए ।
बजेट विनियोजनमा अघिल्लो आर्थिक वर्ष विवाद भएपनि यसवर्ष सौहार्दपूर्ण रुपमा पालिकाले बजेट विनियोजन गरेको छ ।